डिभाइन एजुकेशन फाउण्डेशन तुलसीपुर दाङमा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ‘इनोभेटिभ पेडागोजी’ अर्थात नवप्रवर्तनशील शिक्षण विधिका बारेमा शिक्षकहरुलाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा प्रमुख प्रशिक्षकका रुपमा राजेन्द्र दाहालले सहजीकरण गर्नुभएको थियो ।
दुई दिन सम्म संचालित उक्त कार्यक्रममा दाहालले परम्परागत पाठ्यक्रम र अध्यापन पद्धतिले विद्यार्थीमा गहिरो जिज्ञासा र जीवनसँग सम्बन्धित ज्ञान विकास गर्न नसक्ने बताउँदै शिक्षकहरूले अध्ययनलाई अनुसन्धान, प्रस्तुतीकरण र जीवनोपयोगी बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई ‘पढ्न’ भन्दा ‘बुझ्न’, ‘खोतल्न’ र ‘आफै खोज्न’ प्रेरित गर्नुपर्छ । यसका लागि शिक्षकहरूले वातावरण सिर्जना गर्नुपर्छ, जहाँ उनीहरूले प्रश्न गर्न, छलफल गर्न, प्रयोग गर्न र सिकेका कुरालाई जीवनमा कसरी प्रयोग गर्ने भनेर सोच्न सकून्।”

उद्घाटन कार्यक्रममा डिभाइन एजुकेसन फाउण्डेशनका सिईओ भोजराज न्यौपानेले मन्तव्य दिँदै भन्नुभयो, “शिक्षण पेशा केवल पठनपाठनमा सीमित हुनु हुँदैन, यसले विद्यार्थीको सोच, व्यवहार र व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याउनु आवश्यक छ । हामीले विद्यालयलाई केवल परीक्षा दिने थलो होइन, जीवन सिक्ने प्रयोगशाला बनाउनुपर्छ।” उहाँले यस्ता तालिमहरू शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अनिवार्य रहेको उल्लेख गर्दै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
डिभाईन मन्टेश्वरीकी प्रिन्सिपल बिन्दु न्यौपानेले कार्यक्रमले शिक्षकहरूमा नविन चेतना र ऊर्जा थपेको विश्वास व्यक्त गर्नुभयो । यसरी संस्थाले आगामी दिनमा अझ सशक्त शैक्षिक पहलहरू अगाडि बढाउने बताउनुभयो ।
शिक्षकहरूको प्रतिक्रिया :
कार्यक्रममा सहभागी शिक्षकहरूले तालिम अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । शिक्षक जीवन लामिछानेले तालिमले आफ्ना शिक्षण शैलीमा नवीनता ल्याउने आत्मविश्वास बढाएको बताउनुभयो । उहाँले भन्नुभयो - "हामीले दैनिक रूपमा पढाउँदै आएका तरिकाहरूलाई पुनर्विचार गर्ने प्रेरणा मिल्यो । अब विद्यार्थीलाई सक्रिय सिकाइमा संलग्न गराउने प्रयास गर्नेछु।” त्यस्तै शिक्षक बालिका भण्डारीले तालिमले आफ्ना शिक्षण शैलीमा नवीनता ल्याउने आत्मविश्वास बढाएको बताउनुभयो ।
डिभाइन एजुकेसन फाउन्डेसन अन्तर्गत डिभाइन टेम्पल एकेडेमी, डिभाइन मन्टेश्वरी र पिस पायोनियर (डिभाइन पाठशाला) गरी हाल ३ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेका छन् ।