तुलसीपुर नगर जेसिसको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । 'Rise Together for Better Tomorrow' भन्ने नाराका साथ आयोजित प्रतियोगितामा तुलसीपुर क्षेत्रका निजी तथा सामुदायिक गरी १९ वटा विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगिता पाँच चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरण सेलेक्सन राउन्ड, दोस्रो जनरल राउन्ड, तेस्रो र्यापिड फायर राउन्ड, चौथो मल्टिमिडिया राउन्ड र पाँचौं चरण बजर राउन्डको रूपमा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा ज्ञानज्योति मावि तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी अमर मावि कालाखोला द्वितीय, हिमाल एकेडेमी तुलसीपुर तृतीय हुन सफल भएका छन् भने गोरखा मावि तुलसीपुर सान्त्वना भएको छ । विजयी टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।

तुलसीपुर नगर जेसिसका अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा नेसनल प्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि शर्माले विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रतियोगितामार्फत व्यवहारिक ज्ञान र आत्मविश्वास बढ्ने भन्दै यस्ता कार्यक्रमहरूले नेतृत्व विकासमा सहयोग पुर्याउने बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि न्यौपानेले स्वस्थ प्रतिस्पर्धा मार्फत विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि र सक्रियता बढ्ने बताउनुभयो ।
प्रतियोगिता जेसिस गोल अन्तर्गतको "जेसिस ब्राण्डिङ अवेयरनेस प्रोग्राम" अन्तर्गत सञ्चालन गरिएको तुलसीपुर नगर जेसिसका अध्यक्ष सन्दिप भुसालले बताउनुभयो । विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो ।
प्रतियोगिता डिभाइन टेम्पल एकेडेमी, तुलसीपुरमा आयोजना गरिएको थियो । कार्यक्रमको संयोजक जेसी सुरज केसी रहनुभएको थियो । प्रतियोगिताको सहजीकरण अध्यक्ष सन्दिप भुसालले गर्नुभएको थियो ।