तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो मुख्य ट्याङ्कीमा आउने खानेपानीका मुहानहरूमा अविरल वर्षाका कारण पानी धमिलो भई ट्रिटमेन्ट प्लान्टले समेत काम गर्न नसक्ने अवस्था आएकाले खानेपानी वितरणमा समस्या भएको जनाएको छ ।
संस्थाले आज एक सूचना जारी गर्दै, उक्त ट्याङ्कीबाट पानी वितरण हुने क्षेत्रहरूमा असार ६ र ७ गते खानेपानी वितरण गर्न नसकिने जानकारी गराएको हो ।
यसबाट प्रभावित हुने क्षेत्रहरूमा सिस्टम नं. ३ भित्रका तमासे, गणेशपुर, रक्षाचौर, खर्चवा, मोतिपुर, राजापुर, सिस्टम नं. ४ भित्रका भुमरे, हात्तीखौवा, मनैया डाँडा, पातु, श्रीगैँ, जबरपुर, गाईडहर, बनकट्टा, सिस्टम नं. ५ भित्रका बेलुवा, दुधेना, टिकरी, सिस्टम नं. ६ भित्रका जबरपुर, पातु, क लाइन, रजौरा, सिस्टम नं. ७ भित्रका पातु, बरुवागाउँ, ग लाइन, घोराहि रोड, विद्युत पछाडि, भि.आई.पी टोल, त्रिमार्ग लगायतका क्षेत्रहरूमा २ दिन धारामा पानी अवरुद्ध हुने भएको छ ।
संस्थाले यसबाट आम उपभोक्ताहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । उपभोक्ताहरूलाई पानीको जोहो गर्न र संयमित रहन आग्रह गरिएको छ । ट्रिटमेन्ट प्लान्ट सञ्चालनयोग्य भएसँगै पानी वितरण सुचारु गरिने संस्थाका सचीव भुवन भुसालले जानकारी दिनुभयो ।