नेपाल घरेलु तथा साना उद्योग महासंघ, तुलसीपुर शाखाले हालै देशभर भइरहेको आन्दोलनको पृष्ठभूमिमा विज्ञप्ति जारी गर्दै ऐतिहासिक, राजनीतिक, सामाजिक र भावनात्मक दृष्टिले नेपाली समाजलाई विभाजन गर्ने गतिविधि रोक्न सबैलाई आग्रह गरेको छ । महासंघले जनताको स्वास्थ्य, सुरक्षा, सहअस्तित्व र दैनिक जीवन प्रभावित हुने गरी भइरहेको आन्दोलनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “देशमा उत्पन्न परिस्थितिले स्वास्थ्य, शिक्षा, जनजीवन, व्यवसाय, औद्योगिक वातावरण र सामाजिक शान्ति सबै प्रभावित भएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा अझ बढी असर परेको छ।”
महासंघले शान्तिपूर्ण सहकार्य र सहमतिको बाटोमार्फत मात्र देशले नयाँ राजनीतिक, सामाजिक र आर्थिक मार्गचित्र तय गर्न सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
महासंघका महासचिव भद्र बहादुर ओली र अध्यक्ष लाल बहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ—
- विभाजन र द्वन्द्वले समस्या समाधान नहुने, बरु एकता, पुनर्निर्माण र विश्वासमार्फत मात्र राष्ट्रको समृद्धि सम्भव हुने ।
- स्थानीय व्यवसाय, उद्योग, यातायात, शिक्षा, स्वास्थ्यलगायत दैनिक क्रियाकलाप ठप्प हुने अवस्थाले आर्थिक, सामाजिक र मानसिक असर गहिरिँदै गएको ।
- शान्ति, स्थिरता र आपसी सहकार्यलाई प्राथमिकतामा राखी युवाशक्ति, श्रमशक्ति र व्यवसायिक समुदाय एकजुट हुनुपर्ने ।
साथै, तुलसीपुर क्षेत्रको उद्योग, व्यवसाय, सहकारी, साना तथा ठूला उद्यमीहरूलाई वर्तमान चुनौतीबीच पनि उत्पादन र रोजगार प्रवर्द्धनका लागि तयार रहन आह्वान गरिएको छ ।
महासंघले देश र समाजलाई आवश्यक पर्ने प्रमुख कुरा उत्पादनको सुरक्षा, सहकार्य र सहअस्तित्व भएको उल्लेख गर्दै शान्ति र पुनर्निर्माणतर्फ सबैले जिम्मेवारीपूर्वक हातेमालो गर्नुपर्नेमा जोड दिएको छ ।
