नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर दाजुभाइ र दिदीबहिनीबीच श्रद्धा, स्नेह र आशीर्वादसहित मनाइँदैछ ।
यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्छन् । दाजुभाइहरूले पनि दिदीबहिनीलाई टीका लगाई दक्षिणा र उपहार दिएर स्नेह प्रकट गर्छन् । शास्त्रीय मान्यताअनुसार दिदीबहिनीले भाइको पूजा गर्दा ऐश्वर्य प्राप्त हुने विश्वास रहिआएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको छ । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार साइतमै लगाउने चलन भए पनि आज दिनभर टीका लगाउन कुनै बाधा छैन । तर, राज्य सञ्चालकहरूले साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ ।
यो वर्ष तिथि वृद्धिका कारण तिहारको भाइटीका पाँचौँ होइन, छैटौँ दिन परेको समितिले जनाएको छ ।
टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?
तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किएर टीका लगाउनुपर्छ । यसो गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने भएकाले शुभ मानिन्छ । शास्त्रीय नियमअनुसार शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्छ ।
पूजा विधि र टीकाको रंग-
आजको दिन लक्ष्मीपूजाका बेला स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टदलमा लेखिएका अष्टचिरञ्जीवी—मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम—सहित चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपति र नवग्रहको आराधना गर्ने परम्परा छ ।
धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार तिहारको भाइटीकामा प्रयोग हुने टीका सप्तरंगी होइन, पञ्चरंगी हुनुपर्छ । पाँच रंग क्रमशः रातो, सेतो, पहेंलो, हरियो र नीलो हुन् ।
टीका लगाइसकेपछि दिदीबहिनीहरूले दाजुभाइलाई तेलको धाराले छेकेर, मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाई आशीर्वाद दिन्छन् । त्यसपछि ओखर, कटुस, मसला, सेलरोटी आदि खानेकुरा दिएर स्नेह प्रकट गर्छन् । दाजुभाइहरूले पनि गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा प्रदान गरी सम्मान जनाउँछन् ।