दाङ तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकेडेमीमा विज्ञान प्रदर्शनी कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ । विश्व विज्ञान दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरूले आफैंले तयार पारेका ३० ओटा भन्दा बढी वैज्ञानिक नमूनाहरूको आकर्षक प्रदर्शन गरेका हुन् । जहाँ उनिहरुले आफ्नो सिर्जनात्मकता र प्रयोगात्मक सीप प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले स्मार्ट डस्टबिन, स्मार्ट कार, भूकम्प मापक यन्त्र, ज्वालामुखी विष्फोटको नमूना, डीएनए मोडेल, हाइड्रोलिक जेसीबी, विपत व्यवस्थापन नमूना, हाइड्रोलिक ब्रिज, वनस्पतिकोष, प्राणीकोष, सोलार सिस्टम, अग्नि सूचक यन्त्र, होम सेक्युरिटी सिस्टम, पेरिस्कोप मोडेल, सोलार हाउस, युरिनरी सिस्टम, मानव मुटु, लाभा ल्याम्प, भाइरस मोडेल, क्लापिङ बल्ब, हाइड्रो इलेक्ट्रिसिटी मोडेल, वाटर साइकल, प्रदूषण व्यवस्थापन, पाचन प्रणाली मोडेल लगायतका नमूनाहरू प्रदर्शन गरेका थिए ।
विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पार्धेले विद्यार्थीहरूले प्रदर्शन गरेका वैज्ञानिक नमूनाहरू प्रशंसनीय र प्रेरणादायी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो भविष्य वैज्ञानिक सोच र नवप्रवर्तनमा आधारित हुनुपर्छ ।"
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएका प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीका वरिष्ठ कन्सल्टेन्ट डा. देवराज केसीले विज्ञानले मानव जीवनलाई सहज र उपयोगी बनाउन ठूलो भूमिका खेल्ने बताउँदै विद्यार्थीहरूलाई निरन्तर सिर्जनाशील बन्न आग्रह गर्नुभयो । साथै उहाँले प्रयोगात्मक अभ्यासले नै ज्ञानलाई जीवन्त बनाउने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै कार्यक्रमका अर्का विशिस्ट अतिथि तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसालले विद्यार्थीहरूले देखाएको क्षमता र बौद्धिकताको प्रशंसा गर्दै सिर्जनसिलता, मेहनत र अनुशासन नै सफलताको शुत्र भएको उल्लेख गर्नुभयो ।
डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ समेत रहेका न्यौपानेले विज्ञान प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा विज्ञानका सैद्धान्तिक ज्ञानलाई आत्मसात गराउन र उनीहरूको सिर्जनशीलता विकास गर्नु रहेको बताउनुभयो । उहाँले विद्यालयले बालबालिकाको सर्वाङ्गीन विकासका लागि किताबी ज्ञानसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको उल्लेख गर्नभयो ।
विद्यार्थीहरुले आफैंले तयार पारेको मोडेल सबैको अगाडि देखाउँदा आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए । साथै उनिहरुले अतिथिहरुको प्रशंसाले विज्ञानमा अझ गहिरो अध्ययन गर्न रुचि बढेको बताएका थिए ।
विद्यालयका भाइस प्रिन्सिपल महेश लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक पूर्ण केसी मुस्कानले गर्नुभएको थियो ।
उक्त विज्ञान प्रदर्शनी अवलोकन गर्न अन्य विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको समेत सहभागीता रहेको थियो ।