तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २१ औं वार्षिक साधारणसभा तथा कार्यपरिषद् बैठक सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता र संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख देवेन्द्र कुमार झाको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले संविधानले प्रत्येक नागरिकलाई स्वच्छ पानी खाने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उक्त अधिकार कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जलाधार संरक्षणलाई पालिकाको पहिलो प्राथमिकतामा राखेर नीति तथा योजना निर्माण गरिने जानकारी दिनुभयो । साथै उहाँले बबई लिफ्टिङ आयोजना तुलसीपुर खानेपानीको गौरवको आयोजना भएको उल्लेख गर्दै यसलाई सम्पन्न गर्न सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त भण्डारीले संस्थामार्फत सञ्चालित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको ७९ प्रतिशत भौतिक प्रगति र ७४ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको जानकारी गराउँदै हालसम्म ११ हजार ६ सय ७२ वटा धारा जडान भइसकेको जानकारी दिनुभयो । संस्थाले भुक्तानी गर्दै आएको विद्युतको महसुल र कर छुट भए उपभोक्तालाई सहुलियतमा पानी वितरण गर्न सकिने उहाँले धारणा गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख झाले दिगो खानेपानी व्यवस्थापन र स्वच्छतामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । साथै उहाँले दूषित पानीले सबैभन्दा बढी असर बालबालिकालाई गर्ने भएकोले यसमा सजगता बनाउन पनि आग्रह गर्नुभयो । तुलसीपुर खानेपानीको समग्र विकासप्रति उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले तुलसीपुर खानेपानीको समग्र विकासका लागि आफ्नो कार्यकालमा महत्त्वपूर्ण कामहरू भएको उल्लेख गर्दै त्यसलाई पूर्णता दिन आग्रह गर्नुभयो । खानेपानीको क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहका आ–आफ्नै कानुन रहेका कारण अब आपसमा नबाझिने, एकअर्कालाई पूरक हुने गरी कानुनी संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विभिन्न खानेपानी संस्थाका प्रतिनिधि, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, खानेपानी संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार, स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालले आम उपभोक्तालाई सर्वसुलभ रुपमा पानी वितरण गर्न आग्रह गर्नुभयो । पार्षद सुशीला सुवेदीले संस्थामा महिलाहरूको सहभागिता सङ्ख्या बढाउनुपर्ने धारणा राख्नुभयो । मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय वरिष्ठ उपसभापती सुशील बस्नेतले खानेपानीको दिगो व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी, तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबहादुर जिसी, नेकपा एमालेका मानबहादुर केसी, नेपाली कम्युनिष्ट पार्टीका मोहन थापा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ईश्वरीप्रसाद गैरे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतम, अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्रतिनिधि केशव सापकोटा, शीतलपाटी खानेपानी सल्यानका अध्यक्ष केशरबहादुर बुढाथोकी, घोराही खानेपानी संस्थाका कोषाध्यक्ष ध्रुव केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै संस्थाका पार्षद मानबहादुर केसी, निवर्तमान कार्यसमितिका तर्फबाट शेवकराम भण्डारी र चोपप्रसाद धिताल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले खानेपानी स्रोत संरक्षण र दिगो व्यवस्थापनबारे धारणा राख्नुभएको थियो । भविष्यमा आउन सक्ने खानेपानी संकटलाई टार्न ठोस नीति, दीर्घकालीन योजना तथा जलाधार संरक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा सहभागी सरोकारवालाहरूले जोड दिनुभएको थियो ।
साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष यमकान्त भण्डारी, प्रगति प्रतिवेदन सचिव भुवन भुसाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोलाप्रसाद थापाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्माले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव भुवन भुसालले गर्नुभएको हो ।
२०४८ सालमा स्थापना भएको तुलसीपुर खानेपानी संस्थामा हाल करिब १२ हजार उपभोक्ता रहेका छन् । संस्थाको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १० र १२ नम्बर वडाहरूमा फैलिएको छ ।