नेपाल मुस्लिम सङ्घ दाङले दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता दीपक गिरीसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
संघका जिल्ला अध्यक्ष अमन उल्ल्लाह अन्सारीको अध्यक्षता तथा उम्मेदवार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय मुस्लिम समुदायका अगुवा, कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा अफिल मिया, मुक्तेश्वर मिया, बकरदिन मिया, जमिल बक्स लगायतले आफ्ना धारणा राख्दै मुस्लिम समुदायका समस्या र मागबारे स्पष्ट रूपमा उम्मेदवार समक्ष प्रस्तुत गर्नुभएको थियो ।
अन्तरक्रियाका क्रममा मुस्लिम समुदायले नागरिकता प्राप्तिमा देखिएका जटिलता समाधान गर्न पहल गरिदिन, मदरसा स्थापना र व्यवस्थापनमा सहयोग पुर्याउन, मुस्लिम समुदायको अन्त्येष्टि व्यवस्थापनका लागि कब्रिस्तान (समाधिस्थल) निर्माण गरिदिन तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरेका थिए । त्यसैगरी, तुलसीपुरको आलुमण्डी क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्था गरिदिन पनि माग गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले मुस्लिम समुदाय देशको सामाजिक सद्भाव र सहअस्तित्वको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै समुदायका समस्या समाधानका लागि सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै तुलसीपुर -५ का वडा अध्यक्ष विरेन्द्र कुमार केसीले निर्वाचन केवल मत माग्ने प्रक्रिया मात्र नभई जनताको वास्तविक समस्या बुझ्ने अवसर भएको बताउँदै मुस्लिम समुदायले उठाएका विषयहरू स्थानीय विकास र समान अधिकारसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा उम्मेदवार गिरीले मुस्लिम समुदायका हकहित, अधिकार र पहिचानका सवालमा आफू विगतदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदायका समस्या सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नागरिकता, शिक्षा, धार्मिक तथा सामाजिक पूर्वाधार जस्ता विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा आफूलाई विजयी गराई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रमले चुनावी सन्दर्भमा उम्मेदवार र मुस्लिम समुदायबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्नुका साथै समुदायका मुद्दालाई राजनीतिक एजेन्डासँग जोड्ने प्रयास गरेको सहभागीहरूले बताएका थिए ।