दाङको तुलसीपुरस्थित डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित तीनवटा विद्यालयका शिक्षकहरूलाई प्रगतिशील शिक्षण विधिबारे कार्यशाला गराइएको छ । फाउन्डेसनअन्तर्गत सञ्चालनमा रहेका डिभाइन टेम्पल एकेडेमी, डिभाइन मन्टेश्वरी र डिभाइन पाठशालाका १ सय भन्दा बढी शिक्षक उक्त कार्यशालामा सहभागी हुनुभएको छ ।

कार्यशालामा प्रगतिशील शिक्षण विधिलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्दै विद्यार्थी केन्द्रित, अन्तरक्रियात्मक र व्यवहारिक सिकाइ प्रक्रियालाई जोड दिइएको थियो ।

शिक्षाविद् राजेन्द्र दाहालद्वारा सञ्चालन गरिएको कार्यशाला दुई दिनसम्म चल्ने बताइएको छ । आधुनिक शिक्षण शैलीलाई व्यवहारमा उतार्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा शिक्षकहरूलाई विद्यार्थी केन्द्रित शिक्षण विधि, सक्रिय कक्षा व्यवस्थापन, प्रविधिको प्रभावकारी प्रयोग, सिर्जनात्मक मूल्याङ्कन प्रणाली तथा व्यवहारिक सिकाइका उपायहरूबारे अभ्यास गराइएको छ ।
शिक्षाविद् तथा प्रशिक्षक राजेन्द्र दाहालले वर्तमान समयको शिक्षा प्रणाली केवल पाठ्यपुस्तकमा सीमित नरही व्यवहारिक, सिर्जनात्मक र प्रविधिमैत्री हुन आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई केन्द्रमा राखेर सिकाइ प्रक्रिया सञ्चालन गर्न सके मात्र वास्तविक सिकाइ उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा डिभाइन एजुकेसन फाउन्डेसनका सीइओ भोजराज न्यौपानेले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका निर्णायक हुने उल्लेख गर्दै निरन्तर सिकाइ र सुधारमार्फत विद्यालयलाई उत्कृष्ट बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले यस्तो प्रकारका अभ्यासले शिक्षकको क्षमता अभिवृद्धि गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालामा सहभागी शिक्षकहरूले यस्ता कार्यक्रमले आफ्नो शिक्षण शैलीमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभएको छ । नयाँ विधि र प्रविधिबारे सिक्ने अवसर पाउँदा कक्षा कोठामा थप प्रभावकारी ढंगले पढाउन सहज हुने शिक्षकहरुको प्रतिक्रिया रहेको छ ।
उद्घाटन कार्यक्रमको सञ्चालन डिभाइन टेम्पल एकेडेमीका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण केसीले गर्नुभएको थियो ।