दाङको तुलसीपुर–४ रक्षाचौरस्थित शारदा विद्यामन्दिरका विद्यार्थीहरूले मानव सेवा आश्रम तुलसीपुरमा आश्रित व्यक्तिहरूलाई सहयोगस्वरूप मुठ्ठीदान गरेका छन् । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरूले चामल, दाल, तरकारी, नुन, तेल लगायतका खाद्यान्न सामग्री तथा नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

सानो सहयोगले पनि कसैको जीवनमा ठूलो खुसी दिन सक्छ भन्ने भावना सहित मुठ्ठीदान गरेको विद्यार्थीहरूले बताएका छन् । सहयोग, सद्भाव र मानवताको भावना विद्यालय जीवनदेखि नै सिक्नुपर्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरेको कक्षा १० का छात्र कमल डाँगीले बताउनुभयो ।

विद्यालयकी प्रिन्सिपल इन्दिरा शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा उहाँले विद्यालयले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै नैतिक शिक्षा, सहयोग र मानवताको भावना सिकाउँदै आएको बताउनुभयो । बालबालिकाहरूमा समाजप्रति जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्नु विद्यालयको पनि दायित्व भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मानव सेवा आश्रम तुलसीपुरका सुपरभाइजर भिम बहादुर श्रेष्ठले विद्यार्थीहरूले सानै उमेरदेखि समाजप्रति उत्तरदायी भावना देखाउनु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनुभयो । यस्ता सहयोगले आश्रममा आश्रित व्यक्तिहरूलाई ठूलो राहत मिल्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल भारतीले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले विद्यालयले शिक्षासँगै संस्कार र सामाजिक चेतना पनि सिकाइरहेको उल्लेख गर्नुभयो ।

विद्यालय सञ्चालक समिति अध्यक्ष दिपेन्द्र चापागाईंले सहयोग र सहकार्यको संस्कृतिलाई विद्यालय तहबाटै विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूको सक्रियता र सेवाभावले आफू प्रभावित भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार आशिष केसीले समाज परिवर्तनका लागि सकारात्मक सोच र मानवीय व्यवहार आवश्यक रहेको बताउनुभयो । विद्यार्थीहरूले देखाएको सेवाभाव अन्यका लागि पनि प्रेरणादायी बन्न सक्ने भन्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
विद्यार्थीहरूले २ बोरा चामल, तरकारी, नुन, तेल सहित नगद ३ हजार ८ सय ४५ रुपैयाँ सङ्कलन गरेका थिए । त्यस्तै विद्यालय सञ्चालक समिति अध्यक्ष दिपेन्द्र चापागाईंको तर्फबाट ५ हजार ५ रुपैयाँ र विद्यालयको तर्फबाट ५ हजार रुपैयाँ गरी जम्मा १३ हजार ८ सय ५० रुपैयाँ नगद समेत प्रदान गरिएको हो ।

संकलित खाद्यान्न तथा नगद मानव सेवा आश्रम तुलसीपुरका सुपरभाइजर भीम बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजीकरण विद्यालयकी सह-प्रधानाध्यापक पविता विश्वकर्माले गर्नुभएको थियो ।