खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर अभिवृद्धि, संस्थागत सुशासन प्रवर्द्धन तथा नेतृत्व विकास गर्ने उद्देश्यले तुलसीपुरमा "क्षमता विकास तथा सेवा गुणस्तर वृद्धि तालिम" सम्पन्न भएको छ ।
आर्थिक यात्रा नेपाल प्रालिको आयोजना तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको समन्वयमा तुलसीपुरमा तालिम सम्पन्न भएको हो । कार्यक्रम विशेषगरी दुवै संस्थाका कर्मचारी तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो ।
कार्यक्रममा लक्ष्मी सनराइज बैंक तुलसीपुर शाखा प्रबन्धक रञ्जन कोइराला र चार्टर्ड एकाउन्टेन्ट घनश्याम सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।
तालिमका क्रममा संस्थागत सुशासन, नेतृत्व विकास, नीति निर्माण, निर्णय प्रक्रिया, पारदर्शिता तथा जवाफदेहिता लगायतका विषयमा विस्तृत छलफल एवं अन्तरक्रिया समेत गरिएको थियो ।
प्रशिक्षक रञ्जन कोइरालाले नेतृत्व विकास, क्षमता अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, ग्राहक सन्तुष्टि, संस्थागत उत्तरदायित्व, सकारात्मक कार्यसंस्कृति निर्माण, टोली व्यवस्थापन, सञ्चार सीप तथा सेवामूलक संस्थाहरूमा नेतृत्वको भूमिकालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै घनश्याम सापकोटाले लेखा व्यवस्थापन, वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली, बजेट योजना तथा कार्यान्वयन, राजस्व व्यवस्थापन, वित्तीय पारदर्शिता, सम्पत्ति तथा स्रोत व्यवस्थापन, लेखा परीक्षणको तयारी, कार्यसम्पादन व्यवस्थापन तथा संस्थागत उत्तरदायित्वलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले तालिमबाट प्राप्त ज्ञान तथा अनुभवलाई व्यवहारमा उतार्दै संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले कर्मचारी तथा पदाधिकारीहरूको दक्षता र जिम्मेवारीबोध बढाउने बताउनुभयो ।
त्यस्तै अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दशरथ ओलीले संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाहका लागि यस्ता तालिम अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सिकाइ र अनुभव आदानप्रदानले संस्थालाई थप सक्षम, पारदर्शी र परिणाममुखी बनाउन मद्दत पुग्ने बताउनुभयो ।
सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले आफ्नो कार्यसम्पादनमा सुधार ल्याउन तथा उपभोक्तालाई अझ गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण आर्थिक यात्रा नेपालका प्रबन्ध निर्देशक देवराज कंडेलले गर्नुभएको थियो ।