नेपाल र थाइल्यान्डबीचको शैक्षिक तथा सांस्कृतिक आदानप्रदानका सम्भावनाबारे थाइल्यान्डको बैंककमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभाइन एजुकेशन फाउन्डेसनको टोली र युनिभर्सिटी अफ द थाई चेम्बर अफ कमर्स (UTCC), बैंककका पदाधिकारीहरूबीच यस विषयमा विचार-विमर्श भएको हो ।
फाउन्डेसनका संस्थापक एवं सीईओ भोजराज न्यौपानेको नेतृत्वमा गएको टोलीले युनिभर्सिटीको स्कुल अफ इकोनोमिक्सका शैक्षिक मामिला उपडिन (Vice Dean for Academic Affairs) डा. वारुत सामार्टसँग भेटघाट तथा छलफल गरेको थियो । उक्त भेटघाटमा फाउन्डेसनका प्रबन्ध निर्देशक (MD) ओमप्रकाश न्यौपाने, भाइस प्रिन्सिपल महेश लामिछाने र कोअर्डिनेटर आकाश सिंह लगायत १० जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भेटका क्रममा दुवै पक्षबीच शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक सहकार्य, नवीनतम शिक्षण पद्धति तथा नेपाल र थाइल्यान्डबीच सांस्कृतिक सम्बन्ध बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो । कार्यक्रममा डा. सामार्टले शिक्षा क्षेत्रमा सहकार्य, आपसी अनुभव आदानप्रदान तथा विद्यार्थी र शिक्षकबीचको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।
नेसनल प्याब्सन दाङका निवर्तमान अध्यक्ष समेत रहेका फाउन्डेसनका सीईओ न्यौपानेले नेपाली शिक्षा क्षेत्रमा भइरहेका अभ्यास, प्रगतिशील शिक्षण पद्धति र आगामी दिनमा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने योजनाबारे आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा फाउन्डेसनका कोअर्डिनेटर आकाश सिंहले सूचना प्रविधि (IT) को सदुपयोग गर्दै डिभाइनका विद्यार्थीहरूलाई थाइल्यान्डका कक्षाहरूसँग जोड्न सकिने सम्भावनाबारे जोड दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा फाउन्डेसनको टोलीले डा. वारुतप्रति हार्दिक आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको थियो । यस भेटघाटले नेपाल र थाइल्यान्डबीच शिक्षा तथा संस्कृतिका क्षेत्रमा आपसी समझदारी, ज्ञान आदानप्रदान र सहकार्यका नयाँ सम्भावनाहरू उजागर गरेको फाउन्डेसनले जनाएको छ ।