- अनिता पोख्रेल
मलाई हरियो रंग असाध्यै मन पर्छ । मन पर्ने दिन म जहिले पनि लगाउँछु तर पछिल्लो समयमा साउन महिनामा भने मलाई हरियो रङ मन परेता पनि हरियो लुगा, हरियो चुरा लगाउन छाडेकी छु । किनकि हामी परिवर्तन खोजिरहेका छौं, परिवर्तन चाहन्छौं भने अब हामी साँच्चिकै परिवर्तन आफैंबाट शुरुवात गर्नुपर्छ भन्ने लाग्छ ।
त्यसो त पहिले–पहिले हरियो रंग (हरियो चुरा) साउनमा लगाउने चलन भएजस्तो लाग्दैन । इतिहास, धर्मग्रन्थ संस्कार संस्कृतिका कुरा सुन्दा पनि यो प्रचलन कहींकतै साउनमा हरियो चुरा लगाउने भन्ने उल्लेख भएको या हरियो चुराको वर्णन भएको पाईंदैन । यदि लेखिएको भए पनि यस्ता अन्धविश्वासमा रहेका हाम्रा सामाजिक कुरीतिहरुलाई परिवर्तन गर्नुपर्ने दायित्व हाम्रो नै हो ? पछिल्लो समयमा परम्पराका नाममा, धर्मका नाममा बढ्दै गएको हरियो चुरा लगाउने होडबाजी विकृति होइन र ?
रंग मन पराउनु, मन परेको रंग लगाउनु हाम्रो स्वतन्त्रता, अधिकार पनि भन्न सकिएला । कसैलाई रातो मन पर्ला, कसैलाई पहेंलो मन पर्ला, कसैलाई कालो, सेतो, निलो हरियो जस्तो मन पर्छ त्यो हाम्रो रोजाइ हो । तर साउनमा हरियो लगाउनुपर्छ अझ हरियो चुरा लगाउनाले के–के हुन्छ भन्ने जुन अन्धविश्वासले हामी महिलाका नाममा शुरु गरिएका सामाजिक परम्परा, महिलाका नाममा गरिने व्यापारले व्यापारीको प्रगति त पक्कै होला तर हामी महिला कहाँ जाँदैछौं भन्ने कुराको पत्तो स्वयं हामीलाई छैन जस्तो लाग्छ । हरियो चुराका पछाडिको भीड देख्दा यस्तै प्रतित हुन्छ ।
समाजमा महिलाको नाममा विद्यमान हानिकारक परम्पराहरुलाई कसरी परिवर्तन गर्ने, समाज रुपान्तरणको सवाललाई कसरी अगाडि बढाउने, सभ्य समाज निर्माणका लागि हामीले गर्न सक्ने के हो ? समानताका कुरा गर्दै हामीहरु व्यवहारमा के गर्दैछौं ? एकपटक सबैले गम्भरि भएर सोच्ने मनन गर्ने कि ?
संस्कृतिको नाममा होस् या अरु हामी महिलालाई अगाडि राखी हामीलाई नै प्रयोग गरी व्यापार गर्नेहरु फस्टाइरहेका छन् । चरम उपभोक्तावादी संस्कृति मौलाउने वातावरण तयार हुँदा नाफाखोर व्यापारीहरु यस्ता अनेक हतकण्डा लिएर हाम्रा अगाडि आउने गर्छन् । धर्म, संस्कार र संस्कृति जोडिदिएपछि महिला सजिलै उपयोग हुने धार्मिक, सामाजिक वातावरण पहिलेदेखि नै छ । यही वातावरणमा खेल्न व्यापारीहरु आइपुग्दा हरियो चुराको प्रचलन मौलाएको हो । यी विषयहरुमा एकपटक मन्थन गर्ने कि ? समाजमा हिजोदेखि जरा गाडेर बसेको कुरीति छाड्दै समाजमा कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने कुरामा ध्यान दिने कि ? एक पटक फर्केर हेरौं न हिजोको दिनमा हाम्रा हजुरआमाहरु, आमाहरुसमेत जसरी संस्कृतिको नाममा जे–जे गर्नुभयो अझ भन्नुपर्दा धर्मशास्त्र अनुसार श्रीमान्को दीर्घायुको नाममा ब्रत, पूजापाठ आदि गर्दा अहिलेसम्म हाम्रा हजुरबुवाहरु, हाम्रा बुवाहरु सबै जिउँदै हुनुपर्ने होइन र ? तर बिडम्बना धेरै भन्दा धेरै हाम्रै ती ब्रत पूजापाठ गर्ने हजुरआमा, आमाहरु छिट्टै एकल भए । एकल भएकै कारण हाम्रा हजुरआमाहरु, आमाहरुलाई अनेक लाञ्छना समेत लगाइए । अनेक यातना खेप्न बाध्य भए । एकल भएका हाम्रा बुवाहरुले यी लाञ्छना कहिल्यै भोग्न परेन । यसो भन्दै गर्दा फेरि पूजापाठ ब्रत नगरौं भन्न खोजेको होइन, धर्मको विरोध गरेको पनि होइन कम्तिमा के गर्दा राम्रो के गर्दा नराम्रो एकपटक सोचेर अघि बढौं भन्ने मात्र हो । जसलाई मनदेखि चाहन्छौं, मनदेखि दुःख सुख पर्दा सम्झन्छौं, साथ र सहयोग पाइरहेका हुन्छौं त्यही नै हाम्रो समर्पण हुन्छ, यसलाई हामी भगवान भन्न पनि सक्छौं ।
त्यसो त ब्रत पूजापाठ, ध्यानआदिको अनेक कोणबाट व्याख्या विवेचना भइरहेको छ । यसको वैज्ञानिक आध्यात्मिक पक्षका कुराहरु छन् । तर यी विषयबारे पर्याप्त जानकारी महिलाहरुसम्म पु¥याउने गरिएको छैन । महिलाहरु आफैले खोज, अध्ययन, चिन्तन मनन अवश्य गर्नुपर्छ यसमा दुईमत छैन । तर यस्तो अवसर कति महिलाले पाइरहेका छन् ख्याल राख्नुपर्ने कुरा यो पनि हो । हिजोदेखि घरको चारदिवारमा कैद गरिएका, अहिले व्यापार प्रवर्द्धनको माध्यमका रुपमा उपयोग गर्ने गरिएका महिलाहरुको कार्यक्षेत्र ज्ञान निर्माणको क्षेत्रमा कमै र धर्म संस्कार संस्कृतिका नाममा महिलाहरुलाई निर्वाह गर्नैपर्ने बनाइएका प्रचलनहरु गर्नका लागि प्रेरित गर्ने काम भइरहेको छ । यसरी अन्धविश्वास थोपरेर होइन, वैज्ञानिक चिन्तनतर्फ प्रेरित गर्नुपर्छ । परिवार समाजका अगुवाहरुले यी विषयमा ध्यान दिएको देखिदैन ।
अवसर पायौं भने हामी महिलाहरु जे काम पनि गर्न सक्छौं भन्ने थुप्रै उदाहरणहरु हामीले देखिरहेका छौं । गरेका पनि छौं । त्यसैले साउन महिना शुरु हुँदै गर्दा महिला दिदीबहिनीहरुलाई हामी यो हरियो चुरामा कति अल्झिने त भन्न मन लाग्यो । यो विकृति हो भन्ने कुरालाई आत्मसात गर्दै यसलाई निरुत्साहित गर्दै जान हामी नै लाग्नु पर्दैन र ? किनभने साउनमा, हरियो चुरा, अझ हरियो कपडा, मेहन्दी लगाउन लाइन लागेका हामीलाई नै देखाएर लाञ्छित गर्ने काम अहिले हरेक चोक, गल्ली र चियापसलहरुमा भइरहेको छ । हामीलाई नै वेवकुफ बनाएर महिला देखासिकीका पछाडि लाग्छन् भन्ने गरिएको छ । हामी केही कुरा ख्यालै नगरी हरियो चुरा लगाउन दौडिरहेका छौं । यो कति जायज छ सबै महिलाले चिन्तन मनन गर्न अब अबेर गर्नुहुन्न ।
जबसम्म हाम्रो मानसिकता बदल्न सक्दैनौं हाम्रो विकास पनि हुँदैन । परिवारमा सुख शान्ति ल्याउन हामी हाम्रा व्यवहार परिवर्तन गरौं । एकअर्काप्रति सम्मान गरौं । हरेक नेतृत्व, निर्णय तहमा बराबर सहभागिताबारे छलफल गरौं । त्यो परिवार यसै पनि शान्त र सुखी रहनेछ । हरियो सागपात खाने, खेतीपातीमा मानो रोपेर मुरी फलाउने महिनाका रुपमा साउनलाई रोजौं । साँच्चिकै परिवर्तन हामी आफै अघि सरेमात्र संभव छ ।
(लेखक महिला मानवअधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष हुनुहुन्छ ।)