दाङ तुलसीपुरमा अवस्थित तुलसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार तुलसीपुरमा भव्य रूपमा सम्पन्न भएको छ। "उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता" भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाका अध्यक्ष जीवलाल शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यता एवं नेफस्कुन दाङ शाखा प्रमुख चन्द्र जोशीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले सहकारी क्षेत्रले स्थानीय स्तरमा उद्यमशीलता विकास र आर्थिक रूपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले सदस्यहरूको सानो-सानो पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै तुलसी सहकारीले दाङको आर्थिक गतिविधिमा खेलेको भूमिका उदाहरणीय रहेको बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि नेफस्कुन दाङ शाखा प्रमुख जोशीले सहकारीको दिगो विकासका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र पारदर्शिता अनिवार्य सर्त रहेको उल्लेख गर्नुभयो । उहाँले सदस्यहरूको हकहित र बचतको सुरक्षालाई केन्द्रमा राखेर प्रविधिमैत्री सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष मेनका अधिकारीले उपस्थित सम्पूर्ण अतिथि तथा सेयर सदस्यहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । सभामा संस्थाका सचिव शेषमणी रिजालले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हुकुम बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी, निवर्तमान लेखा संयोजक बसन्तराज पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार ठाकुर प्रसाद ओली र तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी लगायतका वक्ताहरूले संस्थाको प्रगतिको कामना गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो ।
साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा सेयर सदस्यहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा जेष्ठ नागरिकबाट डिल्लिराज लम्साल र मायादेवी कोईराला, असल ऋणीमा फर्स बहादुर घर्ती मगर, नारायणी विष्ट, जानका शर्मा र खिमा कुमारी खड्का त्यसैगरी
असल बचतकर्तामा मोतिराम भण्डारी र निर्मला न्यौपाने, सदस्यता वृद्धि तर्फ नारायण बहादुर बिष्टलाई सम्मान गरिएको छ ।
यसैगरी, संस्थाको विभिन्न पदमा रहेर महत्त्वपूर्ण योगदान पुर्याएबापत संस्थापक अध्यक्ष दिपेन्द्र चापागाईं, निवर्तमान अध्यक्ष रमाभक्त अधिकारी, कानुनी सल्लाहकार ठाकुर प्रसाद ओली, सल्लाहकारहरू महादेव शाह, कमला महरा, तेजमणी आचार्य र मेनका आचार्यलाई विशेष सम्मान गरिएको छ । त्यस्तै, कोषाध्यक्ष हुकुम बहादुर डागी, सदस्यहरू तारा घिमिरे, गिता पुरी, बम बहादुर सिह खत्री क्षेत्री, लेखा समिती सदस्यहरू पद्म कमल शर्मा र थानेस्वर आचार्य, शिक्षा समिति संयोजक विष्णु भण्डारी, सञ्चालक समिति सदस्यहरू रेणु कवर पाण्डे र तारा घिमिरे, महिला सदस्यहरू बिर्मा पुन र निर्मला रायमाझी, तथा ऋण उपसमिति सदस्य युवराज पोख्रेल लगायतका व्यक्तित्वहरूलाई पनि संस्थामा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।
जीवलाल पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन :
छैटौँ अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि जीवलाल पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा तारा घिमिरे, सचिवमा शेषमणि रिजाल र कोषाध्यक्षमा रुकुमबहादुर डाँगी चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा भोजराज भट्टराई, रामचन्द्र पौडेल, स्थानेश्वर आचार्य, गीता चापागाईं पुरी र लिला रेग्मी रहनुभएको छ । त्यसैगरी, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा बसन्तराज पाण्डे तथा सदस्यहरूमा विष्णुप्रसाद भण्डारी र कमल केसी चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिले बाँकी उपसमितिहरू र सल्लाहकारहरू छिट्टै चयन गर्ने संस्थाले जनाएको छ ।